Oman,Sohar Awareness Program
“स्वस्थ नेपाली, सुरक्षित रोजगारी” भन्ने मुल नारासहित हिजो सेप्टेम्बर ५ का दिन सोहारमा श्रमिकहितमैत्री सामुदायिक कार्यक्रम सम्पन्न भएको छ। नेपाली दूतावास मस्कट, सोहार सेवा समाज ओमान तथा झापाली समाज ओमानको सहकार्यमा आयोजित यस कार्यक्रममा श्रमिकहरूको कानुनी सचेतना, सामाजिक सुरक्षा कोष, स्वास्थ्य सचेतना र पासपोर्ट नवीकरण जस्ता जीवनका अत्यावश्यक विषयहरूमा जानकारी दिइएको थियो।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा नेपालि राजदूतावासका श्रम सहचारी दामोदर ज्ञवालीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अधिकार, कानुनी समस्या समाधानका उपाय, सतर्कता र पासपोर्ट नवीकरण प्रक्रियाबारे प्रष्ट जानकारी दिए।
साथै यस कार्यक्रममा नेपालबाट सामाजिक सुरक्षा कोषका सह–निर्देशक प्रदिप महर्जनले नेपालबाटै अनलाइनमार्फत प्रत्यक्ष रूपमा सहभागीहरूसँग संवाद गर्दै कोषमा आवद्ध हुन सक्ने प्रक्रिया, भविष्यमा प्राप्त हुने सुविधा र यसको महत्त्वबारे विस्तृत जानकारी दिए।
स्वास्थ्य क्षेत्रमा NRNSC सचिव डा. कमल अर्यालले स्वास्थ्य सचेतनाबारे प्रस्तुति दिँदै वैदेशिक रोजगारीमा स्वास्थ्यलाई बेवास्ता नगर्न आग्रह गरे। साथै, लाइफलाइन हस्पिटलको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य परीक्षण (Free Health Camp) संचालन गरिएको थियो, जसबाट श्रमिकहरूले प्रत्यक्ष लाभ पाए।
९७ जना भन्दा बढी नेपालिहरुको सहभागिता रहेको कार्यक्रम सहभागीहरूले दूतावास, सामाजिक सुरक्षा कोष र स्वास्थ्य शिविरबाट प्राप्त जानकारी र सुविधा अत्यन्तै उपयोगी भएको बताएका छन्।
NRNSC अध्यक्ष सुरेश खड्काले संस्थाले ओमानमा मात्र नभई नेपालमै समेत विभिन्न सामाजिक काम—जस्तै कोरोना महामारीमा अक्सिजन सिलिन्डर सहयोग, बाढी–पहिरो पीडितलाई राहत र बिरामीहरूको उपचार सहयोग गरेको स्मरण गर्दै सोसल क्लब को भूमिका तथा सदस्यता प्राप्तिको तरिका बारे प्रकास पार्दै आगामी दिनहरुमा पनि प्रवासी नेपाली श्रमिकहरूको हितमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो।
कार्यक्रमलाई सफल बनाउन हरेक कोण बाट सहयोग गर्नु हुने सम्पूर्ण प्रति हामी हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं।